काठमाडौ। तीजका अबसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिशेष मेला लागेको छ । हरितालिका तिज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ बजेदेखि खुला गरिएका छन । तिजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी आउने भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुलाई सहज रुपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएका हुन । पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चारवटा लाइनको व्यवस्था गरिएको छ । मूल मन्दिरभित्र भने आठवटा लाइनको व्यवस्था गरिएको छ। पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा मन्दिर प्रांगणबाहेक अवलोकन भ्रमण गर्न दिइने भएको छ। भक्तजनबाट गौदान, पूर्णपात्रोजस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँबायाँ क्षेत्रमा व्यवस्था मिलाइएको छ। बहुमूल्य गरगहना लगाएर र बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शनमा नआउन कोषले अनुरोध गरेको छ। मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था गरिएको छैन।