काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले नेपाली जनशक्तिलाई स्वदेशमै रोक्ने गरी बजेटमा कार्यक्रमहरु अघि बढाइएको बताएका छन् ।
बिहीबार काठमाडौंमा मिडिया इन्टरनेसनलको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मान्छेले अन्तरक्षिमा सम्भावना खोजरिहेका बेलामा नेपालले देशभित्रै सम्भावनाहरु किन खोजि किन नगर्ने भन्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताए ।
अर्थ मन्त्री पौडेलले स्वदेशमै अवसर सिर्जना गर्न सही र सक्षम राजनीतिक नेतृत्व, सही विचार, सही दृष्टिकोण र प्रभावकारी कार्यायोजनाको आवश्यकता रहेको बताए । आफ्ना जनशक्तिलाई देशभित्र कसरी रोक्नसक्छौँ ? कसरी सम्भावना देशभित्रै खोजि गर्नसक्छौँ ? भन्ने उद्देश्यमा केन्द्रित रहेर अहिलेको बजेट आएको दाबी गरे ।
उपप्रधानमन्त्री पौडेलले नेपाल प्रकृति, जलश्रोतको सही सदुपयोग गरेर विकसित हुनसक्ने बताए । उनले नेपालसँग करिब ५० वर्षको देशको आन्तरिक आवश्यकता पूरा गर्नसक्ने तेल र ग्याँसको खानी रहेको जिकिर गरेका छन् । प्राकृतिक सम्पदा र जनशक्तिको सही सदुपयोग गर्दै जनशक्तिलाई देशभित्रै रोकेर देशको विकास र समृद्धिमा परिचालित गर्ने बताए ।