काभ्रे । काभ्रेको पनौतीमा १ हजार ४ सय २१ वर्षदेखि मनाइँदै आइएको हिले जात्रा सोमबारदेखि शुुरु भएको छ । परम्परा अनुसार पहिलो दिनसाँझ पुण्यमाता खोलामा नागको प्रतिकका रूपमा दुईवटा बाँस तेस्र्याइने र देवगणहरू सुस्तरी तरेपछि विशेष जात्रा शुरु भएको मानिन्छ ।
राति अबेर भद्रकालीको रथ तानिन्छ भने रातभरि गैडु पूजा अर्थात होम गर्ने पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ । जात्रा मनाउने क्रममा चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा धुमधामसहित पूजा अर्चना गरिन्छ ।
साथै, इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबीर जात्रा गरी नगर परिक्रमा गराइनुका साथै साँझै भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिन्छ । त्यसैगरी जात्राको तेस्रो दिन अर्थात् पूर्णिमाको दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीन वटा रथको भागदौड गराउने र रथ भेटिँदा रथलाई एकापसमा जुधाउने काम हुन्छ ।
त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल मनाइने हिले जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने चलन छ । जात्रा सकेर खेतमा रोपाइँ शुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याः पुन्हीसमेत भनिन्छ ।
तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठुलो जात्राका रूपमा लिने गरिएकाले पनौती नगरपालिकाले मंगलबार र बुधबार सार्वजनिक बिदा दिएको छ ।