भारतमा आज विपक्षी गठबन्धनले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध संसदको तल्लो सदन लोकसभामा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । अविश्वास प्रस्तावले सरकारलाई जातीय हिंसाग्रस्त मणिपुरको स्थितिमाथि लामो बहस गर्न र प्रधानमन्त्रीलाई जवाफ दिन बाध्य पार्ने विपक्षीको विश्वास छ । विपक्षी दलहरुले मणिपुरको स्थितिबारे संसदमा आएर प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग संसदका दुवै सदनमा लगातार उठाउँदै आएपनि प्रधानमन्त्री मोदी भने त्यसका लागि तयार देखिएका छैनन । संसदको मनसुन सत्र जुलाई २० देखि सुरु भएको हो । सोही दिनदेखि नै विपक्षी दलहरुले मणिपुरको स्थितिबारे संसदमा लामो बहस गरिनु पर्ने र प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्ने माग गर्दै आएका छन् । संसदको मनसुन सत्र सुरु हुनु एक दिनअघि मात्रै मणिपुरमा एउटा भिडले दुई आदिवासी महिलालाई खेतमा निर्वस्त्र दौडाइरहेको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सो घटनापछि विपक्षी दल आक्रोशित बनेको छ । त्यसपछि मणिपुरमाथिको लामो मौनता तोड्दै प्रधानमन्त्री मोदीले दोषीमाथि कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । मणिपुरमा गत मे महिनादेखि मैतेइ र कुकी आदिवासी समुदायबीच भड्किएको जातीय हिंसाका कारण अहिलेसम्म एक सय ४० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।