मुख्य समाचार

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भयो : एमाले

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भयो : एमाले

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भएको स्पष्ट पारेको छ । 

पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयका बारेमा जानकारी दिन बुधबार पार्टी कार्यालय च्यासलमा एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेमा महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्किन उपयुक्त नहुने निष्कर्ष पार्टीले निकालेपछि सदस्यता नवीकरणको विषय स्वतः निष्क्रिय भएको बताएका हुन् । 

गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको नदेखिएको एमालेको ठहर छ । 

महासचिव पोखरेलले भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्नुको कारण दललाई बलियो बनाउने भन्दा लोकतन्त्रलाई बलियो बनाउनका लागि भएको जिकिर  गरे । पूर्व राष्ट्रपति एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भएपनि लोकतन्त्र कमजोर हुने उनको भनाइ छ । 

महासचिव पोखरेलले दुई कार्यकाल र ७० बर्षे उमेर हद हटाएका कारणले अध्यक्ष केपी ओली निर्विकल्प भएको भन्ने बिषय राजनीतिक कुरा मात्रै भएको जिकिर गरे ।  विधान अनुसार योग्यता पुगेका कुनै पनि प्रतिनिधि पार्टी अध्यक्षका रुपमा उम्मेद्वार हुन पाउने हक राख्ने उनको भनाइ छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *