काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पताल सुधार भए समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधार गर्न सकिने बताएका छन् ।
वीर अस्पतालको १३६ औँ वार्षिकोत्सव समारोहमा मन्त्री पौडेलले वीर अस्पताललाई सुधार्न राज्यले सबै सुधारका प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्ने भन्दै त्यसका लागि थप लगानी आवश्यक रहेको बताए ।
अस्पतालका निर्देशक प्रा. डा. दिलीप शर्माले अस्पतालको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेस गर्दै अस्पतालमा दैनिक करिब दुई हजार ५०० सयभन्दा बढीले सेवा लिने गरेको जानकारी दिए । अस्पतालमा सघन उपचारका लागि बहु–विशिष्टिकृत ७२ सघन उपचार श्यया तथा ३८ ‘हाइ–डिपेन्डेन्सी युनिट’ रहेका छन् । डा. शर्माले वीर अस्पताललाई केन्द्रीय रिफरल तथा अध्ययन अनुसन्धानको केन्द्र बनाउन सबैको एकता तथा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे ।
विसं १९४६ साउन १२ गते १५ श्ययाबाट शुुरु भएको वीर अस्पतालमा हाल ९६० श्यया रहेको छ । अस्पतालले हाल २२ वटा क्लिनिकल विभाग तथा तीन वटा क्लिनिकल युनिट (आँखा स्वास्थ्य, गाइनोकोलोजी, मानसिक रोग) मार्फत आधारभूत, विशेषज्ञ तथा अति विशिष्टिकृत सेवा प्रदान गर्दै आएको छ ।