कैलाली । थारू समुदायले पहिलो पर्वका रूपमा मनाउने ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदैछ ।
विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारू समुदायमा यो पर्व मनाइँदैछ । ‘गुरही’ एक प्रकारको गाइने कीराको प्रतीक मानिन्छ । यसले वातावरणलाई दूषित बनाउने कीटाणु र लामखुट्टेलाई आफ्नो आहारा बनाउने गर्दछ ।
यही गाइने कीराको प्रतीकका रूपमा कपडाको गुरही पुतली बनाएर पूजा गरी मनाइने भएकाले यस पर्वको नाम गुरही रहन गएको हो । थारू समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ ।
विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारू समुदायले यो पर्वलाई विशेष महत्वका साथ मनाउँछन् । यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ ।
गुरही पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, रोगव्याधी महामारी घरमा प्रवेश नगर्ने जनविश्वास रहिआएको छ । पर्वका अवसरमा विभिन्न कार्यक्रम पनि आयोजना गरिन्छ ।
गुरही पूजाका अवसरमा कैलालीका स्थानीय तहहरूले सार्वजनिक बिदासमेत दिएका छन् ।