काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाद्वारा दशरथ रंगशालामा आयोजित फिफा फर स्कुल अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले खेलका माध्यमबाट बिश्व सामू देशको पहिचान उच्च हुने भन्दै खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका हुन् । प्रधानमन्त्री ओलीले भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो रंगशाला निर्माण गर्ने बताए ।
प्रधानमन्त्री ओलीले किर्तिपुरमा निर्माण शुुरु गरेको क्रिकेट रंगशालाको काम पुरा हुन लागेको भन्दै अबको क्रिकेट प्रतियोगिता सोहि रंगशालाबाट हुने जानकारी दिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरण गर्दै फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका थिए ।
अभियान अन्तर्गत फिफाले एन्फासँगको सहकार्यका ७५ वटै जिल्लाका एक हजार ७२ विद्यालयमा ३२ हजार ६ सय ४० वटा बल उपलब्ध गराउने बताइएको छ । यस कार्यक्रम मार्फत विद्यालयको पाठ्यक्रमसँगै खेल समावेश गरी विद्यार्थीमा जीवन उपयोगी सीप विकास गर्ने र ग्रासरुट फुटबलको विकासमा टेवा पुग्ने लक्ष्य राखिएको एन्फाले जनाएको छ ।