काठमाडौं । नेपाल पत्रकार महासंघका उपाध्यक्ष दीपक आचार्यले सरकारले अभिव्यक्ति स्वतन्त्रमाथी अंकुश लगाउन खोजेको बताएका छन्। अनलाइन मिडिया, युट्युब र पत्रकारितासँग सम्बन्धित समसामयिक विषयमा सूचना तथा सञ्चार मन्त्रालयले भरतपुरमा आयोजना गरेको छलफल कार्यक्रममा उनले मिडियालाई नियमन गर्ने नाममा नियन्त्रणको प्रयास भइरहेको बताएका हुन्।
उनले पछिल्लो समय पत्रकार दिलभूषण पाठकलाई पक्राउ पुर्जी जारी गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि कुन्ठित गरेर अगाडि बढ्न खोजेको स्पष्ट भएको उल्लेख गरेका छन् । ‘युट्युब च्यानल दर्ता छैन भन्ने नाममा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्न पाइँदैन,’ उनले भने
अहिले सरकारले ल्याउन लागेको सामाजिक सञ्जाल विधेयक मिडिया प्रती लक्षित नबनेको उनकाे भनाइ थियाे ।
यो विधेयक नेपाल पत्रकार महासंघलाई स्वीकार्य नभएको पनि उनले स्पष्ट पारे । स्वरोजगारमूलक मिडियाहरू समस्यामा रहेको भन्दै तिनको स्थायित्वका लागि राज्यका सबै निकायले अलि गम्भीर भएर ध्यान दिनुपर्ने आचार्यले उल्लेख गरे ।
उनले सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी रहेको भन्दै यसमा राज्यका निकायले सहजीकरण गर्नुपर्ने बताए।