समाज

रसुवामा आएको बाढीले टिमुरेदेखि रसुवागढीसम्मको बाटो कटान, त्रिशूली जलविद्युत आयोजनामा क्षति

रसुवामा आएको बाढीले टिमुरेदेखि रसुवागढीसम्मको बाटो कटान, त्रिशूली जलविद्युत आयोजनामा क्षति

रसुवा । रसुवाको भोटेकोशीमा आएको बाढीले टिमुरेदेखि रसुवागढीसम्मको बाटो कटान गरेको छ भने त्रिशूली जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ । 

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान बाढी आएको हो । बिहान सवा दुई बजे भोटेकोशीको सतह एक्कासि बढेको हो । केरूङ खोलामा भेलबाढी आएको हो कि, दायाँतर्फको ल्हेन्दे खोलामा बाढी आएको हो भन्ने यकिन भएको छैन । 

बाढीबाट क्षति हुन नदिन आवश्यक तयारी गरिएको प्रशासनको दावी छ । बिहान आएको बाढीले टिमुरेदेखि रसुवागढीसम्मको बाटो कटान गरेको छ । बाढीका कारण मानवीय क्षति नभएको प्रशासनले जनाएको छ । 

बाढी आउने बित्तिकै प्रहरी टोली परिचालन गरेर स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ । आजको बाढीले त्रिशूली जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ । क्षतिको विवरण भने आइसकेको छैन । गत असार २४ गते ल्हेन्दो खोला भेलबाढी आउँदा २० जना बेपत्ता भएका थिए । त्यसमध्ये केहीको शव फेला परेको थियो । 

त्यतिबेला ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा हिमनदीको माथिल्लो सतहमा रहेको सुप्राग्ल्यासियर ताल विस्फोट हुँदा भेलबाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *