काठमाडौं । नेकपा (एमाले) निकट निजामति कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी संगठनले तीन वटै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गर्न माग गरेको छ ।
संगठनको केन्द्रिय कार्यसमितिको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै संगठनले तीन तहको कर्मचारीलाई निजामति कर्मचारीको परिभाषामा समावेश गरी कर्मचारी तथा ट्रेड युनियनमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेको हो । संगठनले अघि सारेका मागहरु पूरा नभए चरणवद्ध आन्दोलन अगाडि बढाउने समेत बैठकले निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले नेपाल निजामति कर्मचारी संगठनले कार्यालय सहयोगिदेखि मुख्य सचिवसम्मको आवाज उठाउँदै आएको बताइन् । उनले आफूहरुले नासुहरुको माग पुरा गर्नको लागि मात्र आन्दोलित नभएको स्पष्ट पारिन् । संगठनले विगतमा अघि सारेका मागहरु सम्बोधन हुनुपर्ने आफूहरुको माग रहेको उनको भनाई छ ।
कुनैपनि पदमा ५ वर्ष सेवा अवधि भएका कर्मचारीलाई एक तह र १० वर्ष सोभन्दा बढी सेवा गरी योग्यता पुगेका कर्मचारीलाई एक श्रेणी बढुवा गर्नुपर्ने संगठनको माग छ । सरकारले संसदको यही अधिवेशनबाट संघीय निजामति सेवा विधेयक पारित गर्ने तयारी गरेको छ ।