काठमाडौ । अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग आज बिहानदेखि छलफल थालिसकेको सेनाका प्रवक्ताले बताएका छन । आजै सेनापति र राष्ट्रपति पौडेलविच पनि छलफल भएको छ । साथै जेनजीले अन्तरिम सरकार प्रमुखमा प्रस्ताव गरेकी कार्की पनि जंगीअड्डा पुगेकी छिन । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका थिए । ती युवाहरुको माग अनुसार नै ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो । जेनजीबाट प्रस्तावित पूर्वप्रधानन्याायधीश कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत समर्थन गरिसकेका छन । नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सबै पक्षको कुरा सुन्ने उद्देश्यले जेनजी युवाका प्रतिनिधिहरु, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईं लगायतसँग पनि छलफल गरिसकेका छन । १० हजारभन्दा बढी जेनजी पुस्ता र अभियन्ताले देशको परिस्थिति, तत्कालै गर्नुपर्ने काम र भावी कार्यदिशाका सन्दर्भमा पनि छलफल गरेका छन।