एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाका केही भागमा अनिकाल परेको संयुक्त राष्ट्रसङ्घको समर्थनमा जारी गरिएको घोषणाको निन्दा गरेका छन् ।
नेतन्याहुले रोमस्थित एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण पहलका लागि काम गर्ने संस्था (इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन इनिसियटिभ) ले जारी गरेको रिपोर्ट झुटो भएको बताएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले युद्धको समयमा गाजापट्टीमा मानवीय सहायता वितरण गरिएको उल्लेख गर्दै इजरायलको भोकमरी सिर्जना गर्ने नीति नभएको दाबी पनि गरेका छन् । यसअघि, संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको थियो ।
मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको र पाँच लाख मानिसले ‘विनाशकारी’ भोकमरीको सामना गर्नु परेको विज्ञहरूले चेतावनी दिएका छन् । राष्ट्रसंघका उच्च अधिकारीहरूले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा सहायता वितरणमा इजरायलले ‘सुनियोजित अवरोध’ पुर्याएको आरोप लगाएका छन् ।