समाज

माधव नेपालमाथि मुद्दा दायरबारे अध्यक्ष दाहालः प्रधानमन्त्रीको राजनीतिक गन्ध आयो

माधव नेपालमाथि मुद्दा दायरबारे अध्यक्ष दाहालः प्रधानमन्त्रीको राजनीतिक गन्ध आयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पतञ्जली जग्गा प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग प्रतिशोध साँधेको  आरोप लगाएका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले प्रधानमन्त्रीको तर्फबाट राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका हुन् । मुद्दा दर्ताप्रति अध्यक्ष नेपाललेनै आश्चर्य प्रकट गरेका र अदालतले न्याय दिनेमा विश्वस्त रहको दाहालले बताए । अख्तियारले पनि कहीँ न कहीँ एउटा गम्भीर प्रश्न जन्माएको र कुनैपनि प्रधानमन्त्री तथा क्याबिनेटको निर्णय आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर ललितानिवास प्रकरणमा पन्छिएको, तर अहिले पुनः सोही प्रकृतिको मुद्दा दर्ता गरेको भन्दै अख्तियारले जवाफ दिनुपर्ने दाहालको भनाई छ । 

अध्यक्ष दाहालले भने, ‘माधवजीको विषयमा स्वयं माधवजी नै आश्चर्यमा परेको कुरा गर्नुभएको छ । अदालतप्रति माधवजीले नै भरोसा छ, अदालतले न्याय गर्छ र छिटै सफाई पाएर फर्किन्छु भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । मैले पनि पक्कै पनि उहाँमाथि अदालतले न्याय गर्छ भन्ने ठान्छु । तर प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । अख्तियारले पनि कहीँ न कहीँ एउटा गम्भीर प्रश्न जन्माएको छ । पहिला अख्तियारले नै प्रधानमन्त्रीको बारेमा कुनैपनि प्रधानमन्त्री र क्याबिनेटको डिसिजनको बारेमा नीतिगत निर्णयको विषय अख्तियारको क्षेत्राधिकार भन्दा बाहिरको कुरा भएकाले ललितानिवास प्रकरणका सन्दर्भमा बाबुराम भट्टराई र माधव नेपालजीको बारेमा जे प्रश्न उठेको थियो, यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन जे गर्नुछ, क्याबिनेटले नै गरोस् भने चिठी लेखेको मैले आफैँले हेरेको छु । तर अहिले त्यही अख्तियारले माधवजीले गरेको त नीतिगत नै निर्णय हो । जे गरेको भएपनि । त्यसैमा फेरि प्रवेश गरेकोले प्रश्न उठेको छ, सायद अख्तियारले जवाफ देला ।’

अध्यक्ष दाहालले नीतिगत निर्णयमा अख्तियारले छानविन गर्दै जाने हो भने कोही पनि प्रधानमन्त्री छानविनको दायराभित्र आउने बताए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *