काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठक आज बस्दैछ ।
बैठकमा नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आयोजना र राष्ट्रिय टोलीको विश्वकप यात्रा विषयमा छलफल हुने कार्यसूचि छ ।
एनपीएलको पहिलो संस्करण गत मंसिर पुसमा भएको थियो । पहिलो संस्करणबाट प्राप्त भएका उपलब्धि तथा दोस्रो संस्करणका लागि थप गर्न सकिने विविध विषयहरूमा छलफल गर्ने क्यानको तयारी छ । दोस्रो संस्करणका लागि अक्सनको मिति पनि तय भइसकेको छ । तर, पहिलो सिजनको हिसाबकिताब सार्वजनिक नगरिएको भन्दै प्रश्न उठ्दै आएको छ ।
नेपाली क्रिकेट टोलीले आगामी अक्टोबरमा टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको संयुक्त रिजनल फाइनल खेल्दैछ । त्यसको तयारीका लागि नेपाली टोली हाल भारतमा छ भने केही खेलाडीहरू नेपालमै पनि अभ्यास गरिरहेका छन् ।
टी–२० विश्वकप छनोटको तयारी र विश्वकपसम्मको यात्राबारे पनि बोर्ड बैठकमा छलफल हुनेछ । त्यस्तै, क्यानको वार्षिक क्यालेन्डरबारे पनि छलफल हुने बताइएको छ ।