काठमाडौं । नेपालका राष्ट्रिय विभूति एवं प्रथम कमाण्डर इन चिफ भीमसेन थापाको २५१औं जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यसैक्रममा काठमाडौंको धरहरा परिसरमा श्रद्धाञ्जली तथा सम्मान अर्पण कार्यक्रम गरिएको छ । कार्यक्रममा नेपाली सेनाले स्वर्गीय थापाप्रति सम्मान अर्पण गर्यो । समारोहमा विभिन्न क्षेत्रका व्यक्तिहरुले भीमसेन थापाको योगदानहरुको स्मरण गरेका छन् ।
भीमसेन थापाले नेपाली सेनाको आधुनिकीकरण र तत्कालीन समाज सुधारमा गरेका कामहरुका बारेमा सहभागीहरुले धारणा राखेका थिए । राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठान र बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेसनले कार्यक्रम आयोजना गरेको हो ।
गोरखाको भिमसेन थापा गाउँपालिकाले आज जयन्तीका अबसरमा पालिकामा सार्वजनिक बिदा दिएको छ । भीमसेन थापा नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार अर्थात प्रधानमन्त्री सरह तथा राष्ट्रिय विभूति हुन् ।
