काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुरको लाकुरीभञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेर घाइते भएका खुलेको छ ।
स्रोतका अनुसार मंगलबार राति प्रचण्ड केही व्यक्तिहरूसँग सो रिसोर्टमा बसेका थिए । त्यहीँ लडेर टाउकोमा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचारपछि टाउकोमा तीनवटा टाँका लगाइएको र त्यसपछि उनी घर फर्किएको जनाइएको छ ।
यता प्रचण्डको सचिवालयले उनलाई बाथरुममा लडेर चोट लागेको जानकारी दिएको छ, तर कुन स्थानको बाथरुम भन्नेबारे स्पष्ट उल्लेख गरेको थिएन ।
उनकी छोरी गंगा दाहालले फेसबुकमार्फत बाथरुममा लडेर चोट लागेको र टाउकोमा टाँका लगाइएको पुष्टि गरेकी थिइन् ।
टेरेस रिसोर्ट काठमाडौंको महँगो र विलासी रिसार्टमा पर्छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि विहान यहि रिसोर्टमा पुगेर घोषणापत्रलाई अन्तिम रुप दिएका थिए । तर उनको टोली राति बसेको थिएन ।