काठमाडौं । बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बागमतीको छैठौं मुख्यमन्त्रीको रूपमा मंगलबार दिउँसो नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनियताको शपथ गराएका हुन् । देवकोटाले मंगलबार नै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
शपथसँगै नवनियुक्त मुख्यमन्त्री बानियाँले मंगलबार नै ८ मन्त्रीहरु नियुक्त गरेका छन् । प्रदेश प्रमुख देवकोटाले ८ मन्त्रीलाई पनि सपथ ग्रहण गराएका छन् । कांग्रेसका २ र एमालेका ६ मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
मुख्यमन्त्री बानियाँले एमालेबाट मधुसुदन पौडेललाई कृषि तथा पशुपंछी विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्री, जयराम थापालाई श्रम रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरण मन्त्री, किरण थापालाई स्वास्थ्य मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेसबाट भने खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयमा कृष्णकुमार तामाङ र शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए । कांग्रेसको भागमा परेको ७ मन्त्रालयमध्ये दुई मन्त्री नियुक्त गरी अन्य ५ मन्त्रालय भने मुख्यमन्त्री बानियाँले आफै मातहत राखेका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँले मुख्यमन्त्री समक्ष हिजो सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार निर्माणका लागि दाबी पेश गरेका थिए । उनलाई ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थन छ ।