काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले चलचित्र र म्युजिक भिडियोमा धुम्रपान र मद्यपान गरेको दृश्यमा कडाई गर्न आवश्यक रहेको बताएका छन् ।
चलचित्र र म्युजिक भिडियोका दृश्यमा सूर्तीजन्य पदार्थको प्रयोग, प्रभाव र कानूनी प्रावधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सोही अनुरुप कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।
उनले छिमेकी मुलुक भारतमा २००५ मा सिनेमा हलमा चलचित्र शुरु हुनुभन्दा अघि नो स्मोकिङको स्लग आएसँगै चलचित्र निर्माताहरुले चलचित्रका दृश्यहरुमा धुम्रपानको दृश्य राख्न छाडेको बताए ।
अध्यक्ष दाहालले टेलिभिजन सिरियलहरुमा पनि धुम्रपान र मद्यपानको नजानिँदो विज्ञापन भइरहेकोतर्फ सचेत हुनुपर्नेमा जोड दिए । नजानिँदो तरिकाबाट चलचित्र र म्युजिक भिडियोहरुमा चुरोट, वियरलगायतका सामग्रीको विज्ञापन भइरहेकाले यस्ता विषयहरु रोकिनुपर्ने बताउँदै त्यसका लागि आवश्यक नियमन र कानून बनाउनुपर्ने बताए ।
उनले उत्पादित वस्तुहरुले बजार नपाउँदा भारतीय टेलिभिजन च्यानलहरुमा प्रशारण हुने टेलिभिजन शोहरुमा हुने गरेका अघोषित विज्ञापनलाई उदाहरणका रुपमा लिनसकिने बताए ।