समाज

बीपी राजमार्गमा आजदेखि १५ दिन राति गाडी चलाउन रोक

बीपी राजमार्गमा आजदेखि १५ दिन राति गाडी चलाउन रोक

काठमाडौं । बीपी राजमार्गमा १५ दिनसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ । 

बाढीपहिरोको जोखिम बढेको भन्दै काभ्रेको काभ्रेभन्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्म आज साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइने भएको छ । शुक्रबार काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले रातिको समयमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो । 
 
बैठकमा राजमार्ग अबरुद्ध हुँदा यात्रुहरू अलपत्र पर्ने समस्या, उद्धारमा देखिने कठिनाइ र सडक सुचारु गर्न देखिने चुनौतीबारे ३ वटै जिल्लाका सुरक्षा निकाय तथा सडक डिभिजन कार्यालयका प्रतिनिधिहरूबीच छलफल भएको थियो । बैठकले संबन्धित निकायहरूले यात्रुहरूलाई समयमै जानकारी गराइने व्यवस्था मिलाउने, आवश्यक परेमा वैकल्पिक मार्गको व्यवस्था तथा आपतकालीन उद्धार टोली तयारी अवस्थामा राखिने निर्णय समेत गरिएको छ । 

पानी पर्दा बाढीपहिरोका कारण बीपी राजमार्ग अवरुद्ध हुँदै आएको छ । गत असोजमा गएको बाढीपहिरोले बीपी राजमार्गको रोशी खोला खण्डमा ठूलो क्षति भएको थियो । यसैबीच, काठमाडौं उपात्यकाबाट बाहिरिने लामा तथा मध्यम दुरीका सवारी साधनले १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाउने व्यवस्था गरिएको छ ।

नयाँ बसपार्क, कलंकी, नागढुङ्गा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाउँ, साँखु, टोखा, तिनपिप्ले र भिमढुंगा गरी १२ वटा स्थानमा स्थापना गरिएका नागरिक सहायता कक्षबाट मनसुन जन्य प्राकृतिक प्रकोप (बाढी–पहिरो)का साथै सडकको अवस्था बारे जानकारी दिइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *