सर्लाही । सर्लाही जिल्लाको उत्तरपूर्वी छेउमा, सिन्धुली जिल्लासँग सिमाना जोडिएको लालबन्दी नगरपालिका–१५ अन्तर्गतको बाहुनीडाँडा विकासको उज्यालोबाट अझै टाढा छ ।
चुरे क्षेत्रको अग्लो पहाडी भूभागमा पर्ने यो बस्तीमा अहिलेको २१औँ शताब्दीमा पनि न बत्ती पुगेको छ, न त सवारी चल्ने सडक नै बनेको छ । त्यसमा पनि यहाँ आधारभूत आवश्यकता शुद्ध खानेपानी तथा स्वास्थ्य संस्था पनि छैन । यो बस्ती अझै अन्धकारमा छ । बाहुनीडाँडामा करिब ३५ घरधुरी परिवार बसोबास कस्टपुर्ण जीवनयापन गर्दै आएका छन ।
बाहुनीडाँडामा स्वास्थ्य संस्था स्थापना भएको छैन । सामान्य ज्वरोदेखि लिएर सुत्केरी जस्ता गम्भीर अवस्थासम्मका बिरामीलाई पनि डोको अथवा स्ट्रेचरमा बोकेर परवानीपुर वा लालबन्दी बजारसम्म लैजानुपर्ने बाध्यता छ ।
महिला स्वास्थ्य स्वयंसेविका पनि आउँदैन गर्भवति, सुत्केरी महिला बालबालिकालाई खोप समेत लगाउन तल परवानीपुर पुग्नुपर्ने बाध्यतामा स्थानीय छन् । बाहुनीडाँडासम्मको सडक ट्र्याक खोलिएको छ । तर, त्यो ट्र्याक अझैसम्म ग्राभेल वा पिच भएर सडकको रूपमा विकसित हुन सकेको छैन । यसले गर्दा बाहुनीडाँडामा उत्पादन हुने अन्न तथा फलफूल बजारसम्म पु¥याउन कठिन भइरहेको किसानहरूले फलफूल टिपेपछि विक्री गर्न नसकेर खेर फाल्नुपरेको किसान बताउछन् ।
बाहुनीडाँडाको विकासको लागि वडाबाट हुने सहयोगहरु आफुले गर्दै आएको जनप्रतिनिधिको भनाइ छ । वडा कार्यालयको सहयोगमा खानेपानी तथा अर्ने डाँडाबाट बाहुनीडाँडासम्म सडक ट्र्याक खोलिएको उनीहरुको दाबी छ ।