काठमाडौं । सरोकारवालाहरुले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।
शुक्रबार एभिन्यूज एचडी खबर टेलिभिजनले गरेको ‘एभिन्यूज एजेण्डा बजेट प्रभाव’ बहस कार्यक्रममा सहभागीहरुले बजेट सकारात्मक भएको र कार्यान्वयन पक्षमा सरकार गम्भीर बन्नुपर्ने बताएका हुन् । कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेट तुलनात्मक रुपमा विगतका वर्षको भन्दा राम्रो भए पनि कार्यान्वयनमा चुनौति रहेको बताए ।
यस्तै नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटमा नीतिगत, संरचनात्मक र व्यवस्थापनका दृष्टिकोणले कुनै पनि नयाँ कार्यक्रम नभएको र विगतकै निरन्तरता भएको टिप्पणी गरे । बजेटमा जनताको अपेक्षा अनुसारका कुनै पनि कार्यक्रम नआएको उनको भनाइ छ ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सीमित स्रोत साधनका बीच कसरी आयोजनाहरुलाई व्यवस्थित गर्ने भन्ने कुरामा ध्यान दिनु्पर्ने भन्दै आयोजनाहरुको प्राथमिकीकरण गरेर बजेट कार्यान्वयनमा लैजानुपर्ने बताए ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जिवी नेपालले विगतका वर्षका भन्दा तुलनात्मक रुपमा बजेट राम्रो आएको बताए । ठूला र राष्ट्रिय गौरवका आयोजना पूरा गर्ने प्रतिवद्धता बजेटमा आउनु राम्रो भएको भन्दै उनले कार्यान्वयन पक्षमा जोड दिन सरकारलाई आग्रह गरे ।
कार्यक्रममा अर्थ समितिका साभापति सन्तोष चालिसेले समितिले अपेक्षा गरे अनुरुप बजेट नआएको बताए । उनले बजेटमा केही सकारात्मक पक्षहरु रहेको बताउँदै कार्यान्वयनमा गम्भीर बन्न सरकारलाई सुझाव दिए ।
कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले निजी क्षेत्रले अपेक्षा गरे अनुरुप बजेट कार्यान्वयन हुनुपर्नेमा जोड दिए । एभिन्यूज एजेण्डा बजेट कार्यक्रम शुरु गर्नु अघि एभिन्यूज एचडीको शुभारम्भ गरिएको थियो ।