सप्तरी । सप्तरीमा प्रहरीकै मिलेमतोमा लागूपदार्थ गाँजाको तस्करी हुने गरेको तथ्य सार्वजनिक भएको छ । सप्तरीका तत्कालीन प्रहरी उपरीक्षक ‘एसपी’ ढकेन्द्र खतिवडा आर्थिक विवादमा मुछिएर छानविनमा तानिएपछि तस्करीमा प्रहरीको सग्लनता खुलेको हो । एक जना सई मार्फत कोसी ब्यारेजमा घुस दिएको दावी गर्ने परिवारका थप एक सदस्य भारतको बिहारमा १ सय ८० केजी गाँजासहित पक्राउ परेपछि तस्करीमा प्रहरीको मिलेमतोमा आशंका गरिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी एक कोसीब्यारेजमा होटेल सञ्चालनको आडमा गाँजा तस्करी गरिरहेको प्रमाणको आधारमा स्थानीय बुधन मण्डल पक्राउ परेपछि परिवार नै त्यसमा सग्लन रहेको खुलेको हो । तर, मण्डल निर्दोष रहेको र आफ्नो परिवारले सञ्चालन गरेको होटेलबाट प्रहरीले रकम उठाउने गरेको विषय युटुबर मार्फत उनका भाइले सार्वजनिक गरेका थिए । सोही प्रचार गराउने मण्डलका भाई अखिलेश मण्डल बिहारमा पक्राउ परेपछि प्रहरीको मिलेमतोमा उनीहरुले भारततर्फ गाँजा तस्करी गरिरहेको खुलेको हो । उनीसहित पक्राउ परेका तिनैजनालाई हाल भारतीय प्रहरीले हिरासतमा राखेको छ । यसअघि सप्तरीमा पक्राउ परेका बुधनमाथि लागूऔषध, कर्तब्य ज्यानसहित विभिन्न सातवटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता छ । सप्तरी प्रहरीले दाजुभाइको आपराधिक नेटवर्कबारे थप अनुसन्धान अघि बढाएको छ । आर्थिक विवादमा मुछिएपछि एसपी खतिवडाको जिम्मेवारी खोसिएको छ । उनलाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरेर छानविन भैरहेको छ । खतिवडाले गाँजा मुद्दाका एक आरोपीलाई पक्राउ गनर्ने सर्तमा वरिष्ठ सई विश्वनाथ साहमार्फत रकम लिएको आरोप छ ।गाँजा कसुरमा जोडिएमा जोगानन्द मण्डललाई पक्राउ नगर्ने सर्तमा उनका भाइ अखिलेशसँग ४ लाख रुपैयाँ लिएको आरोप छ ।।