काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दैछ । बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
बैठकमा उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि चल्ने सम्भावना न्युन छ । जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । भिजिट भिसा प्रकरणलाई लिएर दुई सातादेखि प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दा बजेट, महत्वपूर्ण विधेयक तथा नागरिकका सरोकारसम्बन्धी मुद्दामाथिको छलफल रोकिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका प्रमुख तीर्थराज भट्टराईमाथि अख्तियारले अनुसन्धान शुुरु गरेपछि गृह मन्त्री रमेश लेखकसमेतलाई जोडेर थप छानबिनको माग गर्दै विपक्षी दलले बजेट प्रस्तुत गर्नबाहेक १३ जेठयता संसद् बैठक चल्न दिएका छैनन् ।
सत्तारूढ एमाले र कांग्रेस एवं प्रमुख प्रतिपक्षी माओवादीबीच संसद् खुलाउनेबारे सैद्धान्तिक समझदारी बने पनि पछिल्लो पटक रास्वपाको अडानका कारण सहमति हुन नसकेको हो । माओवादी र रास्वपाबीच सहमतिको भाषा र बुँदामा फरक मत देखिएको छ । गृह मन्त्रालयका सहसचिवमाथि भइरहेको छानबिनलाई जोडेर गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग राख्नु पूर्वाग्रह भएको सत्तारूढ दलका नेताहरूको भनाइ छ ।