काठमाडौं । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेटको फाइनलमा सिंगापुरले नेपालसामु ११४ रनको लक्ष्य दिएको छ ।
मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४० ओभर ५ बलमा अलआउट हुँदै ११३ रन बनाएको हो ।
साविक विजेता नेपाल उपाधि लक्ष्यका साथ मैदानमा छ। नेपाल सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनल पुगेको हो भने हङकङलाई चार विकेटले हराउँदै सिंगापुरले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।
प्रतियोगितामा नेपाल अपराजित छ। समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो।