समाज

मधेश प्रदेशमा ४७ प्रतिशतमात्र रोपाइँ सम्पन्न

मधेश प्रदेशमा ४७ प्रतिशतमात्र रोपाइँ सम्पन्न

काठमाडौं । मधेश प्रदेशमा जम्मा ४७ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृृषि विभागका अनुसार गत वर्ष यही समयमा मधेसमा करिब ८९ दशमलब ६ प्रतिशत रोेपाइँ सम्पन्न भइसकेको थियो । 

मधेस प्रदेशमा ३ लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुन्छ । विभागका अनुसार साउन ४ गतेसम्म मुलुकभर ७२ दशमलब १४ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यो अवधिमा ८४ दशमलब ६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो ।

वर्षा हुन नसक्दा धानको बिउ डढ्न थालेको, भइसकेको रोपाइँसमेत सिँचाइ नपाएर सुक्न थालेको छ । राम्रो वर्षा हुन नसकेको खण्डमा उत्पादनमा १५ देखि २० प्रतिशत ह्रास आउने आंकलन गरिएको छ । मनसुन अवधिमा मुलुकभर एक हजार ४०० मिलीमिटर सरदर वर्षा हुने गरेकामा हालसम्म करिब ५०० मिलीमिटर अर्थात् मनसुन अवधिमा हुने वर्षाको ३४ दशमलब ४ प्रतिशत वर्षा भएको छ ।

विभागले उपलब्ध गराएको जनकपुर, सिमरा, विराटनगर, पोखारालगायतका वर्षा मापन केन्द्रको तथ्याङ्क हेर्दा यी मापन केन्द्रमा औसतभन्दा कम वर्षा भएको छ ।  करिब २५ लाख ३० हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये हालसम्म करिब १५ लाख हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउनेगरी सिँचाइको संरचना निर्माण गरिएको छ । तर, करिब एक तिहाइ भूमिमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुनसकेको तथ्याङ्कमा उल्लेख छ । 

यस प्रदेशमा जम्मा पाँच लाख ४२ हजार ५८० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिने छ भने जम्मा पाँच लाख दुई हजार २२४ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । जसमध्ये कुल तीन लाख ६२ हजार ३४४ हेक्टर जग्गामा बर्खे धानको खेती र २० हजार ८३९ हेक्टर जग्गामा चैते धानको खेती हुने गरेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *