काठमाडौ । सांसद प्रेम सुवालले जनताबाट उठाएको कर र विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनु एक प्रकारको भ्रष्टाचार भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘मामाको धन फुपूको श्राद्ध बनाउन खोजिएको हो र । यो बजेटमा राजनीतिक दल र तिनका नेताहरूको नैतिकता हराएको छ,’ उनले भने, ‘जनताबाट उठाएको कर र विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनु एक प्रकारको भ्रष्टाचार नै हो ।’
साथै नेपाल किसान मजदुर पाटीले संसदमा उठाएका जनताका विषयमा बजेट विनियोजन नभएको र विनियोजन गर्न जरुरी रहेको उनको भनाइ छ ।
सुवालले सरकारले तीन करोडभन्दा कमका बजेट नराख्ने भने पनि १ हजार बजेट भएका आयोजनासमेत समावेश गरेको आरोप लगाए ।