काठमाडौ । वर्षाले केही समय रोकिएको काभ्रेको साँगा–धुलिखेल सडकखण्ड निर्माण कार्य पुनः सुरु भएको छ । निर्माण कम्पनीले पुलबजार क्षेत्रबाट केही समयमै पिच गर्ने कार्य प्रारम्भ हुने जानकारी दिएको छ । बर्खा कम भएसँगै अहिले सडक सम्याउने, ढलान बनाउने र ग्राभेल बिछ्याउने काम तीव्र पारिएको हो । पहिलो चरणमा पुलबजारदेखि साँगासम्म केही किलोमिटरको दूरीमा पिच सुरु गरिने र त्यसपछि क्रमशः अन्य क्षेत्रतर्फ अघि बढाइने निर्माण कम्पनीले जनाएको छ ।
निर्माणाधिन सडक अन्र्तगत साँगा–धुलिखेल सडक खण्डमा हालसम्म ५२ प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ । अहिले सो सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण ९० प्रतिशत सम्पन भएको छ । भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी विस्तारको काम २०७९ पुस २४ गते सुरु गरिएको थियो । ३६ महिनामा सम्पन्न गर्ने गरी सडक विस्तारका लागि साँगा–धुलिखेल ८ दशमलव ५ किलोमिटर सडकखण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा लामा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो ।