काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले आज भुटानसँग खेल्दै छ ।
आजको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ३ बजेदेखि शुरु हुनेछ । डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो ।
नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो ।
त्यस्तै, श्रीलंकासँग तेस्रो र चौथो खेलमा समान ७-० गोलअन्तरको जित निकालेको थियो । भुटानले भने हालसम्म नेपालसँग १ खेलमा तथा बंगलादेशसँग २ खेलमा हार बेहोर्दा श्रीलंकालाई हराएको छ ।
प्रतियोगितामा बंगलादेश ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा छ भने ४ खेलमा ९ अंक भएको नेपाल दोस्रो र ३ अंक मात्र भएको भुटान तेस्रो स्थानमा छ ।
नेपालले अब आफ्नो अन्तिम खेल सोमबार बंगलादेशसँग खेल्ने तालीका रहेको छ ।