काठमाडौं । राजनीतिक दलहरुबीच सहमति नजुट्दा मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो । तर राजनीतिक दलहरुबीच भिजिट भिसा प्रकरणमा सहमति नजुटेपछि बैठक बुधबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो ।
भिजिट भिसा मार्फत मानव तस्करी भइरहेको र त्यसमा गृहमन्त्री रमेश लेखक समेत जोडिएको भन्दै विपक्षी दलहरूले उनको राजीनामा माग गर्दै लगातार संसद बैठक अवरोध गर्दै आएका छन् । तर सत्तारुढ दलहरु नेकपा एमाले र नेपाली कांग्रेस भने भिजिट भिसा प्रकरणमा कर्मचारीलाई अख्तियारले सोधपुछ गर्दैमा गृहमन्त्रीले राजीनामा दिन नपर्ने बताउँदै आएका छन् ।
मंगलबार प्रमुख प्रतिपक्षीदल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बिपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले छानविनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।
त्यसपछि सभामुख देवराज घिमिरेलेले विपक्षी र सत्तारुढ दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । त्यसका कारण मंगलबारको बैठक २ बजेका लागि सारिएको थियो । सोमबार प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालबीच भएको छलफल पनि निष्कर्ष बिहीन भएको थियो ।