मुख्य समाचार

युक्रेनमा पश्चिमा सुरक्षा प्रस्ताव पुटिनद्वारा अस्वीकार

युक्रेनमा पश्चिमा सुरक्षा प्रस्ताव पुटिनद्वारा अस्वीकार

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पेरिसमा सम्पन्न शिखर बैठकपछि युक्रेनमा युद्धविराम भएलगत्तै पठाइने भनिएको ‘रिअस्युरेन्स फोर्स’ (सैन्य बल) सम्बन्धी पश्चिमा देशहरुको प्रस्ताव अस्वीकार गरेका छन् । 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार २६ वटा मित्रराष्ट्रहरूले युद्ध रोकिएलगत्तै भूमि, समुद्र वा हवाई मार्गबाट सुरक्षा बल पठाउने प्रतिबद्धता जनाएको बताएका थिए । पुटिनले सो पहललाई अस्वीकार गर्दै युक्रेनमा देखापर्ने कोही पनि सेना रुसको निसानामा हुने चेतावनी दिएका हुन् । 

अलास्कामा गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर बैठकपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीलाई समेत सहभागी गराएर सम्भावित शान्ति सम्झौता हुने आशा गरिए पनि अहिले तत्काल युद्धविराम हुने सम्भावना न्यून देखिएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पुटिनले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै आफू युक्रेनी नेतासँग सम्पर्क गर्न तयार रहे पनि मुख्य विषयमा सहमति नभएकाले त्यसको अर्थ नभएको बताएका छन् । 

पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले युद्धविरामका लागि ट्रम्पले गरेको पहल रचनात्मक भएको तर, युरोपेली मुलुकहरूको प्रयास भने ‘युद्धलाई लम्ब्याउने खालको भनेर आलोचना गरेका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *