काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई पदबाट हटाउन कांग्रेस बागमती प्रदेश संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
अविश्वासको प्रस्ताव पारित भए लामा मुख्यमन्त्रीबाट स्वतः पदमुक्त हुनेछन् । कांग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसबाट हाल प्रतिनिधित्व गरिरहेका ४ मन्त्रीसहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन् ।
संसदीय दलको कार्यालयमा कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा सांसदहरूको बैठक बसेको थियो । बैठकपछि लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।
यसैबीच मुख्यमन्त्री बहादुर सिंह लामाले चार जना मन्त्रीहरुलाई पदबाट बर्खास्त गरेका छन् । शुक्रबार साँझ मुख्यमन्त्री लामाले राजीनामा दिएको भनिएका चार जना मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री लामाले संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेलाई पदबाट बर्खास्त गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।