सर्लाही । भारतबाट अवैध रुपमा चोरी पैठारी गरी ल्याइएका करिब डेढ करोड रुपैयाँ भन्दा बढी मूल्यका भन्सार छलीका सामान सर्लाहीमा बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल र सर्लाही भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाका आधारमा ईश्वरपुर नगरपालिका–२, राईटरखोरस्थित तुलसी पशुपालन फर्ममा छापा मर्दा १ करोड ५८ लाख ५९ हजार रुपैयाँ बराबरका विभिन्न किसिमका विदेशी सामान बरामद भएको हो ।
फर्मबाट प्लाटिनियम ७ प्रिमियम ब्लेण्ड ब्लु ब्रान्डको १ करोड ४० लाख रुपैयाँ बराबरको ७ हजार खिल्ली सिगरेट फेला परेको छ । त्यस्तै, १० लाख ३४ हजार रुपैयाँ बराबरको भन्सार छलीका एक हजार ३४ थान साडी, ७ लाख २० हजार रुपैयाँ बराबरको कुर्ता सुरुवाल ७ सय २ पिस, १ लाख २३ हजार मूल्य बराबरको एक हजार २ सय ३० मिटर कुर्ता सरवाल बनाउने कपडा बरामद भएको छ ।
बरामद गरिएको सिगरेट स्विट्जरल्याण्डमा बनेको जनाइएको छ । भारतको बाटो हुँदै अवैध रुपमा नेपालमा भित्रियाइएको सिगरेटको मूल्य अधिक रहेका कारण यसको प्रयोग नेपालको ठूलो होटेल तथा क्यासिनोहरूमा हुने गरेको भन्सार कार्यालयको अनुमान छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको भन्सार कार्यालय सर्लाहीले जनाएको छ ।