एजेन्सी । भारतको मुम्बईमा लगातार वर्षाका कारण ७ जनाको मृत्यु भएको छ । वर्षाले गर्दा जनजीवन प्रभावित बनेको छ ।
मुम्बइका बिभिन्न शहरहरुमा सयौं सवारी साधन डुबेकाले सडक आवागमन समेत बन्द भएको छ । वर्षाका कारण मुम्बई महानगरपालिकाले विद्यालय–महाविद्यालय र सरकारी तथा अर्ध–सरकारी कार्यालय समेत बन्द गरेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार विमानस्थलहरुमा पानी जमेकाले उडानहरु समेत प्रभावित बनेका छन् । मुम्बईको विक्रोलीका अधिकांश कच्ची घरहरुमा पानी पसेकाले उद्धारकार्य जारी छ ।
यसैबीच, हिमान्चल प्रदेशको कुल्लुमा लगातारको वर्षाले ब्यास नदीमा आएको बाढीले तीन वटा पसल बगाएको छ । हिमान्चलको भूतनाथ क्षेत्रमा सडकको एक हिस्सा क्षतिग्रस्त भएको छ भने पुल समेत बगाउँदा जनजीवन प्रभावित बनेको छ ।
मुम्बइ र हिमान्चलमा केही दिनसम्म वर्षा जारी रहने भएकाले सतर्क रहन सर्वसाधारणलाई अपील गरिएको समाचारमा उललेख छ ।