काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नागरिकता सम्बन्धी विधेयकमा सेरोगेसीको विषय कसरी सम्बोधन गर्ने ? भन्दै सरकारसँग प्रश्न गरेका छन् ।
मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारसँग सेरोगेसीसम्बन्धी विषयलाई कसरी समाधान गर्ने भन्दै प्रश्न गरेका हुन् ।
आधुनिकताको विकाससँगै सेरोगेसीको चलन बढ्दै गइहेको छ । विकसित मुलुकमा मात्र होइन, नेपालमा पनि सेरोगेसीको चलन बढ्दो छ । अरुको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रकृयालाई सेरोगेसी भनिन्छ । सेरोगेसीलाई गर्भ भाडामा लिने प्रकृया पनि भनिन्छ ।
विश्वका चर्चित कलाकारहरुले सेरोगेसीबाट बच्चा जन्माएका थुप्रै उदाहरण छन् । नेपालमा पनि सेरोगेसीको चलन बढिरहेको सन्दर्भमा प्रमुख सचेतक पाण्डेले सरकारको जवाफ माग गरेका हुन् । उनले सेरोगेसी शुरु हुँदै गर्दा त अहिले नागकिरतामा समस्या सिर्जना भइरहेको समयमा सेरोगेसीको चलन बढ्दै जाँदा नागकिरतामा कसरी समेट्ने भन्दै प्रश्न गरे ।
प्रमुख सचेतक पाण्डेले नागरिकता सम्बन्धी विधेयकमा व्यापक छलफल गर्न जरुरी रहेको बताए । समितिमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल जारी छ ।