काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवस २०२५ का अवसरमा राष्ट्रिय युवा परिषद्ले मंगलबार काठमाडौंमा आयोजना गरको मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले समृद्ध नेपाल बनाउने युगिन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम भइसकेका छन भन्ने आफूलाई विश्वास लागेको बताएका हुन् ।
राष्ट्रपति पौडेलले युवा पुस्ताले चाहेको विकास, सुशासन र समृद्धिको सपनालाई पूरा गर्नु नै आजको मुख्य कार्यभार भएको धारणा राखे । वा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आजका युवाहरूलाई केही गर्न सक्नु भन्ने सकारात्मक सोच विकास गर्न सक्नुपर्ने बताए ।
उनले देशका सबै स्थानीय तहमा युवा सशक्तीकरण कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाउन राष्ट्रिय युवा परिषदलाई निर्देशन समेत दिए । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले वैदेशिक रोजगारबाट स्वदेश फर्केका युवाहरूले सिकेका ज्ञान सीपलाई राष्ट्र निर्माणमा परिचालन गर्न पनि परिषद्ले ध्यान दिएको बताए ।
युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।