काठमाडौं । चितवनमा बस र माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा बस र माइक्रो बस दुर्घटना भएको हो ।
मृत्यु हुने मध्ये दुई जनाको मात्रै सनाखत भएको छ । सनाखत हुनेमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका–५ का ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन् । दुर्घटनामा पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्हरीका अनुसार शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–०१ज २९९ नम्बरको विद्युतीय माइक्रो डडुवामा ठक्कर खाएर दुर्घटना भएको हो ।
घाइतेहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । तीव्र गति र ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।