काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नीतिगत निर्णयबाट गरिएका काममा भ्रष्टाचारको मुद्दा लाग्दै जाँदा धेरै सांसदहरु संसदबाट बिदा हुने स्थिति आउने बताएका छन् ।
संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पाण्डेले यस्तो प्रतिक्रिया दिएका हुन् । पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
जसबारेमा प्रश्न गर्दा वरिष्ठ उपाध्यक्ष पाण्डेले अध्यक्ष नेपालले जग्गा खरिद विक्रीमा भ्रष्टाचारसँग जोडिने कुनै अपराध नगरेको बताए । अध्यक्ष नेपालमाथि मुद्दा राजनीतिक प्रतिशोध साँधेर लगाइएको पाण्डेको भनाइ छ ।
वरिष्ठ उपाध्यक्ष पाण्डेले मुद्दा लगाउने बित्तिकै सबै नसकिने उल्लेख गरे । विगतमा भएका मन्त्रीपरिषद्का सबै निर्णयहरु भ्रष्टाचारजन्य मुद्दा बन्नसक्ने जिकिर उनको छ ।