काठमाडौँ । आगामी ३५ वर्षभित्र प्लास्टिक उत्पादन तीन गुणासम्म बढ्ने भन्दै विज्ञहरूले मानव र पृथ्वीको स्वास्थ्यमा गम्भीर जोखिम बढेको बताएका छन्।
पछिल्ला केही दशकयता प्लास्टिक उत्पादन र प्रयोग ह्वात्तै बढेकाले विज्ञहरूले यसलाई गम्भीर चुनौति मानेका छन्। सन् १९५० मा विश्वभर प्लास्टिकको उत्पादन २ मेगाटन थियो।
७२ वर्षपछि सन् २०२२ उत्पादन ४७५ मेगा टन पुग्यो । हालै प्रकाशित एक अनुसन्धानका अनुसार आगामी सन् २०६० मा १२ सय मेगा टन प्लास्टिक उत्पादन हुनेछ।
अहिलेकै अवस्था कायम रहे सन् २०६० सम्ममा प्लास्टिक उत्पादन तीन गुणासम्म वृद्धि हुन सक्ने चेतावनी दिएका छन्।
प्रयोग भएकामध्ये ५७ प्रतिशत प्लास्टिक फोहोर कम आय भएका मुलुकहरूमा खुला स्थानमा जथाभावी जलाइन्छ, जसका कारण वायु प्रदूषण उच्च बनिरहेको छ।
प्लास्टिक उत्पादनमा वृद्धि र यसको प्रयोग तथा उत्पन्न प्रदूषणले पारिरहेको विश्वव्यापी असरलाई अन्त्य गर्न बाध्यकारी कानुन निर्माणको पहल स्वरूपमा संयुक्त राष्ट सङ्घ वातावरण कार्यक्रमले जेनेभामा पाँचौँ चरणको दोस्रो वार्ता चलिरहेको छ।
समुद्री वातावरण सहित प्लास्टिक प्रदूषण नियन्त्रणमा बाध्यकारी अन्तर्राष्ट्रिय कानुनी उपकरण विकास गर्न स्विट्जरल्यान्डको जेनेभामा निर्णायक वार्ता चलिरहेको छ।
संयुक्त राष्ट्र सङ्घ वातावरण कार्यक्रम र स्विट्जरल्याण्ड सरकारको आयोजनामा ग्लोबल प्लास्टिक सन्धि अनुमोदनको प्रयासस्वरूप निर्णायक वार्ता चलिरहेको हो।
अन्तरसरकारी वार्ता समितिको पाँचौँ सत्रको दोस्रो भाग नाम दिइएको वार्तामा नेपालसमेत सहभागी छ । सन् २०२२ मा संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूले कानुनी रुपमा बाध्यकारी सम्झौता बनाउने निर्णय गरेका थिए।
सन्धि अनुमोदनका लागि पाँचौँ चरणको पहिलो वार्ता दक्षिण कोरियामा गत वर्ष भएको थियो। सो वार्ताले सहमति जुटाउन नसकेपछि जेनेभामा पाँचौँ चरणको दोस्रो भाग चलिरहेको छ।