काठमाडौ । जेनजी आन्दोलनका कारण केही जिल्लामा लागू गरिएको कफ्र्यू अझै हटेको छैन । उता जिल्ला प्रशासन कार्यालय, झापाले आज बिहान ८ बजेदेखि जिल्लाभरि लागू गरेको कफ्र्यू आदेश बेलुका पाँच बजेसम्म कडाइका साथ लागू गर्ने जनाएको छ । त्यस्तै रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाएको कफ्र्यु आदेशलाई निरन्तरता दिएको छ । विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी यही भदौ २४ गते बेलुका ८ बजेर ३० बजेदेखि जारी भएको कफ्र्यु आदेशलाई आज बिहान नौ बजेदेखि पुनः लागू गरिएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले बिहीबार बिहान ९ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रशासनले पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी खोटाङ जिल्लाभर अर्को आदेश जारी नभइन्जेलसम्मका लागि निषेधाज्ञा जारी भएको हो । उता चितवन आज बिहान ६ बजेसम्मका लागि जारी भएको कफ्र्युको समय सकिएपछि चितवनमा अवस्था सुधार हुँदै गएको भनेर प्रशासनले कफ्र्यु हटाएको छ धनकुटामा स्थानीय प्रशासनले लगाएको कफ्र्यू हटाएको छ । बारामा जिल्लाभरि कफ्र्यू र निषेधाज्ञा बिहीबार बिहानदेखि हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कफ्र्यू हटाउँदै निषेधाज्ञा जारी गरेको छ । दुई दिनदेखि कफ्र्यूको कारण अस्तव्यस्त भएको वीरेन्द्रनगर सामान्य अवस्थातिर फर्कन थालेको छ ।