प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा नेपालको भूमि सट्टापट्टा गर्ने जस्ता विषय उठाएको भन्दै प्रतिनिधिसभाको बैठकमा आपत्ति जनाएको छ । बैठकमा एमाले सांसद योगेश भट्टराईले समय लिएर बोल्दै नेपालको भूमि साट्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका हुन । सांसद भट्टराईले कालपानी लिपुलेक लिम्पियाधुरा कुनै पनि सर्तमा नेपालको भूमि विदेशीलाई दिने हक प्रधानमन्त्रीलाई नभएको उल्लेख गरे ।
सांसद भट्टराईले नेपालका लागि हवाई रुट, सीमा समस्या समाधान, डुबान, पञ्चेश्वर परियोजना लगायतका विषय चासोमा रहेको तर त्यसमा भ्रमणमा कुनै प्रगति नभएको उल्लेख गरे । भट्टराईले ईपीजीको बारेमा प्रश्न उठाउँदा परिस्थिति बिग्रिन्छ, डुबानबारे कुरा उठाउँदा, सीमाबारे प्रश्न उठाउँदा माहोल बिग्रन्छ भने के गर्दा चाहिँ सप्रिन्छ ? भनेर प्रश्न समेत गरे । सांसद भट्टराईले मन्त्रिपरिषद्ले राष्ट्रपति रामचन्द्र पौडेललाई उक्साएर नागरिकता विधेयक प्रमाणीकरण गरेको भनेर प्रश्न समेत उठाए ।
सांसद भट्टराईले प्रधानमन्त्रीले आफूसँग नभएको अधिकार प्रयोग गरेर राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न सिफारिस गरेको भन्दै आपत्ति जनाएका हुन । राष्ट्रपति संसद्को अंग भएको र संसद्भन्दा माथि नभएको बताएका हुन् । राष्ट्रपति पौडेलले संसद्को अधिकार हनन गरेको भन्दै उनले राष्ट्रपतिले संसद्को मर्यादा ख्याल राख्नुपर्नेपनि स्पष्ट पारे । सांसद भट्टराईले नागरिकताजस्तो संवेदनशील विषयमा खेलवाड नगर्न पनि आग्रह गरे ।