एजेन्सी । भारत र पाकिस्तानले एकअर्कालाई आक्रमण गरेको दाबी गरेका छन् । भारतीय सेनाले पश्चिमी सीमानामा पाकिस्तानले आक्रमण गरेको जनाएको छ । उता, पाकिस्तानी सेनाका प्रवक्ताले भारतले आफ्ना तीन सैन्य हवाई अड्डामा मिसाइल प्रहार गरेको उल्लेख गरेका छन् ।
भारतीय सेनाले आज बिहान ५ बजे अमृतसरको खासा क्यान्टमा उडिरहेको धेरै हतियारधारी ड्रोनलाई निष्क्रिय पारिदिएको दाबी गरेको छ । सरकारी टेलिभिजन च्यानलमा पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले पाकिस्तानी सेनाले सैन्य हवाई अड्डामा भारतले गरेको आक्रमणको ’जवाफ दिने’ बताएका छन् ।
पाकिस्तानको सेनाको एयर डिफेन्स सिस्टमले भारतका धेरैजसो मिसाइलहरूलाई खसालिदिएको जिकिर गरिएको छ । पाकिस्तानले निशाना बनाएको दाबी गरेका सैन्य हवाई अड्डाहरूमध्ये रावलपिंडीको नूर खान पनि एक हो । जुन पाकिस्तानको राजधानी इस्लामाबादबाट १० किलोमिटर टाढा छ ।
भारतले ७ मेमा ’अपरेसन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै स्थानहरूमा हवाई हमला गरेको थियो । त्यस हमलापछि पाकिस्तानले ३३ जनाको मृत्युसहित ठूलो क्षति भएको स्वीकार गरेको थियो ।
२२ अप्रिलमा जम्मू–कश्मीरको पहलगाममा आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिएको हो । उक्त आक्रमणमा एक नेपाली सहित २६ जनाको मृत्यु भएको थियो ।