समाज

माग भन्दा उत्पादन बढेपछि उपत्यकामा हरियो तरकारीले पाएन बजार

माग भन्दा उत्पादन बढेपछि उपत्यकामा हरियो तरकारीले पाएन बजार

काठमाडौं । माग भन्दा उत्पादन बढेपछि केही दिनदेखि काठमाडौं उपत्यकामा हरियो तरकारीले बजार नपाउने समस्या देखिएको छ । 

हरियो तरकारी धेरै भित्रिँदा खेर फाल्नुपर्ने अवस्था आएको व्यापारीको भनाइ छ । किसानले उत्पादन गरेको घिरौँला, लौका, तितेकरेला, काँक्रो, हरियो फर्सी, तने बोडी, घिउ सिमी, मुला, सागलगायतका तरकारी केही समययता बिक्री घटेको छ । 

देशको आर्थिक अवस्था कमजोर भएकाले आमउपभोक्ताको क्रयशक्ति कमजोर भएका कारण विगतको तुलनामा तरकारी कम खपत भएको व्यापारीहरुको भनाइ छ । विगतका वर्षमा दैनिक एक हजार मेट्रिक टन तरकारी खपत हुने कालिमाटि तरकारी बजारमा हाल करिब छ सय मेट्रिक टन तरकारी आउँदा पनि बिक्री हुन सकेको छैन ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालीमाटी बजारमा हाल धादिङ, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, सिधुपाल्चोक, तराईका बारा, पर्सा, सर्लाही, सिराहालगायतबाट ठुलो परिणाममा हरिया तरकारी भित्रिने गरेको छ । 

खेतबारीमा हाल लगाएको तरकारी सकिएपछि असारको अन्तिमदेखि भाउ बढ्न सक्ने सम्भावना छ । नेपालमा उत्पादन भएको तरकारीको हिस्सा ६० प्रतिशत छ । समितिका अनुसार भारतबाट आउने तरकारीमध्ये ठुलो परिमाणमा आलु र प्याज पर्दछ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *