ताप्लेजुङ । ताप्लेजुङमा यस वर्ष करिब ८० प्रतिशत मात्र धान रोपाइँ भएको छ ।
पर्याप्त वर्षा नहुँदा खेतीयोग्य सबै जमिनमा रोपाइँ गर्न नसकिएको हो । यहाँ जेठ महिनादेखि नै रोपाइँ शुुरु हुने भए पनि समयमा पानी नपरेका कारण सबै क्षेत्रमा धान रोप्न नसकिएको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ ।
केन्द्रका अनुसार साउन मसान्तसम्ममा कुल ७९ दशमलब ७८ प्रतिशत मात्रै रोपाइँ भएको छ । धान रोप्ने समय सकिएकाले अब थप रोपाइँको सम्भावना नरहेको पनि केन्द्रको भनाइ छ ।भदौयता रोपिएको धान फलदायी नहुने भएकाले किसानले साउनभित्रै रोपाइँ सकाउने परम्परा छ ।
गत वर्ष यतिबेला ९८.५० प्रतिशत रोपाइँ भएको थियो । यहाँको अधिकांश क्षेत्र वर्षामा मात्र निर्भर हुने भएकाले वर्षा ढिला हुँदा उत्पादनमा असर पर्ने गरेको छ । जिल्लाको कुल पाँच हजार ६ सय ६६ सय ३२ हेक्टर धानखेतीयोग्य जमिनमध्ये यस वर्ष करिब एक हजार १४५.७३ हेक्टर खेतमा रोपाइँ हुन सकेन ।
बाँझो जमिनमा किसानहरूले दाललगायतका बाली लगाइरहेका छन् । यस वर्ष रोपाइँ भएका खेतमा बेलगुटी, भँगेरे, अट्टे, मनिपुरे जस्ता परम्परागत जातसँगै सुक्खा–१, खुमल–४ जस्ता उन्नत जातका धान पनि लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।