काठमाडौँ । भारतका लागि पूर्व राजदूतसमेत रहेका परराष्ट्रविज्ञ नीलाम्बर आचार्यले भारतसँगको राजनीतिक सम्बन्ध र समझदारीलाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणलाई लिनुपर्ने बताएका छन्।
एभिन्युजका लागि संवाददाता प्रवीण चौधरीसँग आइतबार कुरा गर्दै परराष्ट्रविज्ञ आचार्यले दुई देशबीच राजनीतिक समझदारी सहज भए आर्थिक सहयोग, विकास साझेदारी र लगानी भित्र्याउने तथा व्यापार घाटा न्यून गर्ने पाटामा काम गर्न सहज हुने उल्लेख गरे।
नेपालमा प्रधानमन्त्री फेरिनासाथ भारत भ्रमणमा जाने परम्परा रहे पनि पछिल्लोपटक निम्ता नआउनुले नेपाल र भारतबीच सम्बन्ध चिसिएको अनुभूति गरिएको उनले बताए।
परराष्ट्रविज्ञ आचार्यले राजनीतिक सम्बन्ध सुधार्न इतिहासदेखि थाँती रहेका मुद्दालाई सम्बोधन गर्दै जाने भन्दै प्रधानमन्त्री ओलीको भारत भ्रमणमा ती विषयमा मित्रवत् र खुला वार्ता हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओली आगामी भदौ ३१ देखि असोज १ गतेसम्म भारत भ्रमणमा जाने कार्यक्रम छ।