काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटको पराजय बेहोरेको छ । बिहीबार नेपालले प्रस्तुत गरेको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा सात विकेट गुमाउँदै पूरा गरेको हो । साउथ अस्ट्रेलियाका लागि विन्टरले ३६, होगनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रन बनाए । नेपालका लागि सोमपाल कामीले तीन, नन्दन यादवले दुई तथा कप्तान रोहित कुमार पौडेलले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रनको योगफल तयार पारेको थियो । नेपालका लागि भीम सार्कीले ३२, दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन बनाए । साउथ अस्ट्रेलियाका लागि थोम्पसन, ब्राउन र मेनेन्टीले समान दुई दुई तथा म्याकफाडेन र मेन्जिसले एक एक विकेट लिए । नेपालले यसअघि डार्विनमा टप एन्ड टी ट्वान्टी सिरिज खेलेको थियो । नेपालले दोस्रो टी २० शुक्रबार खेल्नेछ । त्यस्तै नेपालले शनिबार साउथ अस्ट्रेलियासँग एकदिवसीय अभ्यास खेल खेल्ने तालिका छ ।