काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध जीत निकालेको छ ।
स्कटल्याण्डको डण्डीमा टस हारेर जारी सिजनको चौथो खेलमा पहिलो इनिङ ब्याटिङमा उत्रिएको नेपालले अघिल्ला खेलको तुलनामा कम रन जोडेपनि नेदरल्याण्ड्समाथि १६ रनको सनसनीपूर्ण जीत निकालेको हो ।
नेपालले दिएको २३७ रन चुनौती पछ्याउन पेनाल्टीमा पाएको १० रनबाट स्कोर शुरु गरेको नेदरल्याण्ड्सका ब्याट्सम्यानहरू नेपालका बलरसामु निरीह बने । नेपाली बलरहरूले एकपछि अर्को विकेट लिइरहँदा नेदरल्याण्ड्सका एकपछि अर्का ब्याट्सम्यान क्रिजमा टिक्न खोजे पनि पेभेलियन फर्किरहेका थिए ।
नेपालले नेदरल्याण्ड्ससँग यसअघि भएको खेलमा पनि जित निकालेको थियो । योसँगै नेपालले यस शृंखलाका ४ मध्ये ३ खेलमा जित निकालेको छ ।
योसँगै लिग २ शृंखलामा नेपालको १६ खेलबाट १२ अंक भएको छ र सातौं स्थानमा छ । नेदरल्याण्ड्सको २३ खेलमा २६ अंक छ । जारी लिगको अन्तिम खेलमा जीत निकालेको नेपालले स्कटल्याण्डमै अब टी-२० सिरिज खेल्नेछ ।