काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टोलीले आसाम प्रदेश क्रिकेट संघसँग आज दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा पराजित भएको नेपाल जित निकाल्ने लक्ष्यमा रहेको छ । यो खेल नेपाली समय अनुसार बिहान ११ बजे गुवाहटीमा शुुरु हुनेछ । अनिलकुमार शाहको कप्तानीमा रहेको नेपाल ‘ए’ टिमले भारतको गुवाहटीमा आसाम प्रदेश क्रिकेट टिमसँग खेल्न लागेको हो ।
बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपाल आसामसँग डकवर्थ लुइस डिएल प्रणालीका आधारमा १५ रनले पराजित भएको थियो । पहिलो हारसँगै नेपाल आसामसँग पाँच खेलको सिरिजमा १–० ले पछि परेको छ । पाँच टी २० प्रतिस्पर्धामा १–० ले पछाडि परेको नेपालले अब चार खेल खेल्नेछ ।
अब शनिबार,आइतबार र सोमबार खेल लगातार छन् । नेपाल क्रिकेट संघ क्यानले घोषणा गरेको नेपाल ‘ए’ टिममा अलराउन्डर आदिल आलम, ब्याट्सम्यान सन्दीप जोरा लगायतका युवा तथा अनुभवी खेलाडी समावेश छन । नेपाल ‘ए’ टिममा यू–१९ टिममा उत्कृष्ट प्रदर्शन गरेका युवराज खत्री समेटिएका छन् ।
घाइते भएपछि खेलमा फर्केका रहेका पवन सर्राफसमेत नेपाल ‘ए’ टिममा समेटिएका छन । ओपनर अनिलले राष्ट्रिय टिमबाट अस्ट्रेलिया भ्रमणमा मौका नपाएपछि ‘ए’ टिमको नेतृत्व पाएका हुन । २६ वर्षीय अनिलले नेपालका लागि १४ टी–२० तथा १७ एकदिवसीय खेल खेलिसकेका छन् ।
क्यानका अनुसार यो भारत भ्रमण नेपाली खेलाडीका लागि अनुभव बटुल्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको तयारी गर्ने अवसर हुनेछ । क्यानले भारत भ्रमणका लागि विकेटकिपर ओपनर ब्याट्सम्यान शाहको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा गरेको हो ।