काठमाडौ । बुधबारदेखि मनसुन फेरि सक्रिय भएको छ । मनसुन सक्रिय हुँदा गएराति र अहिले पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाउँदै विभागले बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली चिसापानी वर्षामापन केन्द्रमा मध्यमदेखि ठूलो वर्षा मापन भएकाले त्यस क्षेत्र भई बहने ससाना खोला आसपास र तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । कैलालीसँगै लमजुङ, काठमाण्डौ, झापा, ताप्लेजुङ, भोजपुर, धादिङ, स्याङ्जा, गोरखा, काभ्रेपलाञ्चोक, पाल्पा, दाङ, जाजरकोट लगायतका ठाउँमा धेरै पानी परेको छ । दिउँसो लुम्बिनी प्रदेशको तराई तथा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ । देशका केही सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।।