एजेन्सी। अमेरिकी उपराष्ट्रपति जेडी भान्स र बेलायती विदेशमन्त्री डेभिड ल्यामीले युक्रेन युद्धको बारेमा छलफल गर्न सुरक्षा अधिकारीहरूसँग बैठक गरेका छन्।
लन्डन नजिकैको केन्टमा रहेको लामीको आधिकारिक निवासमा शनिबार भेटघाट भएको थियो।
यसमा युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तम उमरोभ, जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री येर्माक र बेलायत, संयुक्त राज्य अमेरिका, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, फिनल्याण्ड र नेटोका अधिकारीहरू उपस्थित थिए।
यो बैठक अमेरिकाको पहलमा बोलाइएको बताइएको छ। यस अवसरमा युरोपका युक्रेनी अधिकारीहरू र राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि उपस्थित थिए।
लामीले भने, युक्रेनलाई बेलायतको पूर्ण समर्थन छ र हामी न्यायपूर्ण र दिगो शान्तिको लागि काम गरिरहनेछौं।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई कुनै पनि क्षेत्रीय रियायत नदिने स्पष्ट पारेका बेला यो बयान आएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अर्को हप्ता अलास्कामा हुने शिखर सम्मेलनअघि जेलेन्स्कीले यो कुरा बताएका हुन्।
